काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार करिब साढे दुई घण्टा लामो बयान दिनुभएको छ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित लेखकले तत्कालीन गृहमन्त्रीको हैसियतमा शान्ति–सुरक्षा कायम गर्न आफूले दिएका निर्देशन र चालेका कदमबारे विस्तृत स्पष्टीकरण दिनुभएको हो। बयानका क्रममा उहाँले सुरक्षा निकायलाई प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न र कुनै पनि अवस्थामा मानवीय क्षति हुन नदिन स्पष्ट निर्देशन दिएको दाबी गर्नुभयो।
आयोगसमक्ष पेश गरिएको लिखित जवाफमा लेखकले आन्दोलनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयलाई आधार बनाउँदै तीन मुख्य निर्देशन दिइएको उल्लेख गर्नुभएको छ। ती निर्देशनमा पहिलो— कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था नआओस् भनी विशेष सतर्कता अपनाउने, दोस्रो— समन्वयात्मक रूपमा शान्ति–सुरक्षाको व्यवस्था मिलाउने, र तेस्रो— नेतृत्वविहीन तथा गैर–राजनीतिक प्रकृतिको आन्दोलन भएकाले सम्भावित घुसपैठप्रति सचेत रहने रहेको छ।
पत्रमा लेखकले गृहमन्त्रीका रूपमा संयम अपनाउन निर्देशन दिए पनि फिल्डमा देखिएका परिस्थिति र उत्पन्न जटिलताबारे सुरक्षा निकायले नै थप स्पष्ट पार्नुपर्ने संकेत गर्नुभएको छ। बयान प्रक्रिया सकेर बाहिरिने क्रममा उहाँले छानबिनमा पूर्ण सहयोग गरेको र तत्कालीन अवस्थामा राज्यका तर्फबाट अधिकतम सतर्कता अपनाइएको दाबी गर्नुभयो।
आयोगले लेखकको मौखिक बयान र लिखित जवाफलाई आन्दोलनका क्रममा भएका कमजोरी तथा जिम्मेवारी निर्धारणका लागि महत्त्वपूर्ण प्रमाणका रूपमा लिने संकेत गरेको छ।








