कलैया । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन बारा जिल्लाका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ प्रस्थान गरेका छन् । संस्थापन पक्षको विरोध र बहिष्कारको आह्वानका बाबजुद बाराबाट ६४ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागिताका लागि राजधानीतर्फ हिँडेका हुन् ।

जिल्ला सचिव राजेश रौनियारका अनुसार पार्टीको संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा कांग्रेसलाई सही दिशातर्फ अघि बढाउने उद्देश्यले बोलाइएको यस विशेष महाधिवेशनमा बाराका प्रतिनिधिहरूले उत्साहपूर्ण सहभागिता जनाएका छन् ।

बारामा कुल १०४ जना महाधिवेशन प्रतिनिधि रहेकामा ६५ जनाभन्दा बढी प्रतिनिधिहरू विभिन्न सवारी साधनमार्फत आजै काठमाडौँ पुगिसकेका छन् । महाधिवेशन प्रतिनिधि तथा कांग्रेस बारा पूर्व उपसभापति सुरेन्द्र गुप्ताले बाँकी केही प्रतिनिधिहरू पनि भोलिसम्म काठमाडौँ आइपुग्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।यसअघि नै बारा कांग्रेसले आफ्ना सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य रूपमा सहभागी हुन ‘ह्विप’ जारी गरिसकेको थियो ।

पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैध ठहर गर्दै सहभागी नहुन दबाब दिइरहेका बेला बाराका प्रतिनिधिहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । महाधिवेशन प्रतिनिधि तथा कांग्रेस क्षेत्रीय सभापति प्रभात चौरसियाले आफूहरू कांग्रेसका सच्चा सिपाही भएको उल्लेख गर्दै कुनै किसिमको डर, धम्की वा दबाब स्वीकार्य नहुने स्पष्ट पारे । “देशको चाहना र समयको मागअनुसार कांग्रेसमा परिवर्तन आवश्यक छ, र यसका लागि यो विशेष महाधिवेशन सफल पार्नुको विकल्प छैन,” उनले भने ।
विशेष महाधिवेशनबाट पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक सुधार तथा भावी रणनीतिसम्बन्धी ठोस र सकारात्मक निर्णय आउने अपेक्षा बाराका प्रतिनिधिहरूले गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा भोलिदेखि सुरु हुने यस महाधिवेशनलाई बारा कांग्रेसले पार्टीलाई थप एकताबद्ध, सुदृढ र सशक्त बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।


