काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरण सम्पन्न भएको छ। दुई पार्टीबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएसँगै एकीकृत पार्टीको औपचारिक घोषणा गरिएको हो।

एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) कायम गरिएको छ। पार्टीको संरक्षकमा मा. महन्थ ठाकुर रहने सहमति भएको छ भने पार्टी अध्यक्षको जिम्मेवारी मा. उपेन्द्र यादवलाई दिइएको छ।

आगामी निर्वाचनका लागि एकीकृत पार्टीको चुनाव चिन्ह छाता छाप रहने निर्णय गरिएको छ। त्यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रंगको संयोजनमा बीचमा ढल्केको छाता अंकित रहने सहमति भएको छ।

नेताहरूले यो एकीकरणले मधेश केन्द्रित राजनीति थप सुदृढ हुने, जनताको अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरणमा बल पुग्ने विश्वास व्यक्त गरेका छन्। पार्टी एकीकरणले राष्ट्रिय राजनीतिमा नयाँ सन्तुलन सिर्जना गर्ने अपेक्षा गरिएको छ।




