काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष तीव्र बन्दै जाँदा पार्टीका दुई धार फरक–फरक स्थानमा केन्द्रित भएका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनसम्बन्धी कार्यक्रमहरू जारी रहँदा, सभापति शेरबहादुर देउवा पक्षधर संस्थापन समूहका नेता–कार्यकर्ता ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा भेला भएका छन्।

मंगलबार दिउँसोका लागि तय गरिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन तथा संस्थापन पक्षको भावी रणनीति तय गर्न ठूलो संख्यामा नेताहरू सानेपा पुगेका हुन्। उक्त भेलामा कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलगायत प्रभावशाली युवा नेताहरूको उपस्थिति रहेको छ।

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई संस्थापन पक्षले वैधानिकता नदिएको अवस्थामा सानेपाको यो भेला इतर समूहका गतिविधिविरुद्धको काउन्टर रणनीतिका रूपमा हेरिएको छ। संस्थापन पक्षीय कार्यकर्ताको बाक्लो उपस्थिति र नेताहरूको सक्रियताले सानेपाको राजनीतिक वातावरण तातेको देखिन्छ।
यसैबीच, पार्टीभित्र देखिएको गम्भीर विवाद समाधानका लागि भइरहेको त्रिपक्षीय वार्ता र संवादका कारण दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक केही ढिला गरी सुरु हुने जनाइएको छ। बैठकअघि शीर्ष नेताहरूबीच सहमतिको वातावरण बनाउने प्रयास जारी रहेको स्रोतले जनाएको छ।
एकातिर भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढ्नु र अर्कोतिर सानेपामा संस्थापन पक्षको मोर्चाबन्दी हुनुले नेपाली कांग्रेसको भावी दिशा कता मोडिन्छ भन्ने चासो व्यापक रूपमा बढेको छ।


