काठमाडौँ । सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको चर्चाप्रति प्रतिक्रिया दिँदै अमेरिका बस्दै आएकी रश्मी पनेरुले आफूविरुद्ध लगाइएका आरोपहरू असत्य भएको बताएकी छन्। उनले आफू पाकिस्तानी नागरिकसँग ‘लिभिङ टुगेदर’मा बसेको भन्ने हल्लालाई खण्डन गर्दै उक्त व्यक्ति आफ्नो ब्वाइफ्रेन्ड नभई केवल साथी मात्र भएको स्पष्ट पारेकी हुन्।
रश्मी पनेरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार, उनी हाल अमेरिकामा सानो अपार्टमेन्टमा एक्लै संघर्षपूर्ण जीवन बिताइरहेकी छन्। एक्लोपन र आवश्यकताका कारण कहिलेकाहीँ मित्रको रूपमा सहयोग लिने गरेको स्वीकार गर्दै उनले त्यसलाई गलत अर्थ्याइएको बताएकी छन्। “पाकिस्तानी साथी हो, बेला–बेला सहयोग लिन्छु। उहाँ मेरा ब्वाइफ्रेन्ड होइनन्,” उनको भनाइ छ।
उनको यो स्पष्टीकरण श्रीमान् योगेन्द्र भाटले लगाएका गम्भीर आरोपहरू सार्वजनिक भइरहेकै बेला आएको हो। योगेन्द्रका अनुसार, चार वर्षको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका उनीहरूले आपसी सहमतिमै रश्मीलाई उच्च शिक्षा अध्ययनका लागि २०२५ जनवरी १० मा अमेरिका पठाएका थिए। रश्मीको अध्ययन, बसोबास र कागजात व्यवस्थापनका लागि योगेन्द्र र उनका परिवारले ऋण खोजेर खर्च जुटाएका थिए।
तर अमेरिका पुगेपछि रश्मीको व्यवहार परिवर्तन भएको, सम्पर्क क्रमशः टुट्दै गएको र अन्ततः सामाजिक सञ्जाल तथा फोनबाट ब्लक गरिएको योगेन्द्रको आरोप छ। आफूलाई श्रीमान् भनेर चिनाउनसमेत लुकाइएको दाबी गर्दै उनले अहिले रश्मी पाकिस्तानी नागरिकसँग बसिरहेको खबरले आफू गहिरो पीडामा परेको बताएका छन्।
यसैबीच, विद्यार्थी भिसाको दुरुपयोग गर्दै अवैध रूपमा काम गरेको र नेपाल पैसा पठाइएको जस्ता आरोपसमेत सामाजिक सञ्जालमा उठिरहेका छन्। यद्यपि रश्मी पनेरुले यी सबै आरोपहरू निराधार भएको संकेत गर्दै आफूविरुद्ध फैलाइएका भ्रमहरू सच्याउनुपर्ने आवश्यकता रहेको बताएकी छन्।
योगेन्द्र भाट भने आफूले यो विषय सार्वजनिक गर्नुको उद्देश्य बदला लिन नभई सत्य बाहिर ल्याउनु मात्र भएको बताउँछन्। “विवाह माया, भरोसा र जिम्मेवारीको सम्बन्ध हो, सुविधा वा भिसाको भर्याङ होइन,” उनी भन्छन्। आफूले देखेको विश्वासघातले जीवनभरको घाउ दिएको भन्दै उनले आज पनि एउटै प्रश्न दोहोर्याइरहेका छन्— “मेरो गल्ती के थियो?” 😔



