Lucky-Khabar_

रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई भन्सार एरियाका स्थानीयद्वारा स्वागत

बिरगंज| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई भन्सार एरियाका स्थानीयवासीहरूले भव्य स्वागत गरेका छन्। रास्वपाले आज भन्सार एरियामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी स्थानीयहरूले पन्तलाई स्वागत गरेका हुन्।

content ad p2

स्वागत कार्यक्रममा बोल्दै वीरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले देशमा आमूल परिवर्तन ल्याउन र सुशासन तथा समृद्धिको यात्रातर्फ अघि बढाउन रास्वपामात्र सक्षम रहेको बताए। उनले रास्वपाको निस्वार्थ सहयोगमा आफूहरू प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

घरदैलो कार्यक्रम अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले पुराना दलका उम्मेदवारहरूलाई मत माग्न आउँदा विगत ३५ वर्षमा के गरे र अब जितेपछि के गर्ने योजना छ भन्ने प्रश्न गर्न मतदातालाई आग्रह गरे। उनले फेरि पनि पुराना दलहरूलाई मतदान गरेर जनआन्दोलनको अपमान नगर्न समेत मतदातासँग अनुरोध गरे।

घरदैलो अभियानका क्रममा पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै रास्वपाको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर