वीरगञ्ज । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू नियुक्त गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार निर्वाचन ऐन २०७३ तथा निर्वाचन आचारसंहिता २०८२ बमोजिम दुई जना अधिकृतलाई अनुगमनको जिम्मेवारी तोकिएको हो।

सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र प्रहरी नायब उपरीक्षक (प्र.को.नि.) मनोज कुमार जोशीलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भए वा नभएको अनुगमन गर्ने तथा उजुरी संकलन गर्ने अधिकृतका रूपमा नियुक्त गरिएको उल्लेख छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले हस्ताक्षर गरेको सूचनाअनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन भएको वा गराइएको पाइएमा इच्छुक व्यक्तिले निर्वाचन आचारसंहिता २०८२ को अनुसूची–४ बमोजिमको ढाँचामा सम्बन्धित अधिकृतसमक्ष उजुरी दर्ता गर्न सक्नेछन्।
निर्वाचनलाई मर्यादित, स्वच्छ र निष्पक्ष बनाउन नागरिकको सक्रिय सहभागिता र निगरानी अपरिहार्य रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।


