वीरगञ्ज | पर्सा जिल्लाको संसदीय निर्वाचन इतिहासमा यसपटक महिला राजनीतिक सहभागिताले उल्लेखनीय कीर्तिमान बनाएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १२ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिँदा नयाँ रेकर्ड कायम भएको हो।

वि.सं. २०४८ सालदेखि हालसम्म भएका प्रतिनिधिसभा निर्वाचनको तथ्याङ्क हेर्दा प्रत्यक्षतर्फ यति ठूलो संख्यामा महिला उम्मेदवार एकैपटक चुनावी मैदानमा देखिएको यो पहिलो अवसर हो। निर्वाचन आयोगको पोर्टलअनुसार २०७९ सालको निर्वाचनमा पर्साबाट प्रत्यक्षतर्फ महिला उम्मेदवारी शून्य थियो भने २०७४ मा चार जनाले प्रतिस्पर्धा गरेका थिए। यसपालि २०८२ को निर्वाचनमा भने महिला उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेर १२ पुगेको छ। तीमध्ये पाँच जना विभिन्न राजनीतिक दलका आधिकारिक उम्मेदवार छन् भने सात जना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्।

चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ र ४ मा महिला सहभागिता सबैभन्दा बढी देखिएको छ। निर्वाचन कार्यालय पर्साका अनुसार क्षेत्र नम्बर २ बाट चार जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये नेकपा एमालेकी रिमा कुमारी यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी पूर्व समानुपातिक सांसद बिना जयसवाल, आम जनता पार्टीकी रञ्जु कुमारी साह तथा स्वतन्त्र उम्मेदवार किस्मती देवी रहेका छन्। रिमा यादव र रञ्जु साह पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन्।
त्यसैगरी, क्षेत्र नम्बर ४ बाट सबैभन्दा धेरै छ जना महिला उम्मेदवार चुनावी दौडमा छन्। जनमत पार्टीकी सिमादेवी कलवार पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएकी हुन् भने उमा देवी, कान्ति देवी कुर्मी, कोरैसा खातुन, गीता देवी बानियाँ र सुरजी देवी नुनिया स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।
सबैभन्दा बढी ९६ हजार ५ सय ४२ मतदाता रहेको क्षेत्र नम्बर ३ बाट भने जनमत पार्टीकी मालती कुमार कुशवाहा एक्लो महिला उम्मेदवार रहेकी छन्। यस्तै, पुरुष मतदाताको बाहुल्यता रहेको क्षेत्र नम्बर १ बाट आर्य शशीकला राउतले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएकी छन्।
राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई न्यून प्राथमिकता दिएको आरोप लागिरहेका बेला पर्सामा देखिएको यो सहभागितालाई राजनीतिक वृत्तमा सकारात्मक संकेतका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यसले स्थानीय तहमा महिला नेतृत्वको उदय, राजनीतिक चेतनाको विस्तार तथा समावेशी प्रतिनिधित्वतर्फ महत्वपूर्ण सन्देश दिएको छ।


