जनकपुरधाम । मधेश प्रदेशमा आगामी संघीय निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गर्ने लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।

रास्वपाको मधेश प्रदेश प्रवक्ता रन्जित रामको संयोजकत्वमा २१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरिएको पार्टीले जनाएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचन तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन समिती गठन गरिएको हो।
समितिले मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रमा पार्टी गतिविधि विस्तार, संगठन सुदृढीकरण, जनसम्पर्क अभिवृद्धि तथा चुनावी रणनीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताइएको छ। साथै, स्थानीय तहदेखि प्रदेश तहसम्म पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध गर्दै निर्वाचन अभियानलाई तीव्रता दिने समितिको प्रमुख जिम्मेवारी रहनेछ।
संयोजक रन्जित रामले मधेश प्रदेशमा रास्वपाप्रति जनआकर्षण बढ्दो रहेको उल्लेख गर्दै आगामी संघीय निर्वाचनमा पार्टीले ऐतिहासिक सफलता हासिल गर्ने दाबी गर्नुभयो। उहाँले मधेशका जनताको समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर पार्टी अघि बढ्ने बताउनुभयो।पार्टी नेतृत्वले संघीय निर्वाचनलाई लक्षित गर्दै यस समितिमार्फत संगठन विस्तार र जनविश्वास सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ। 


