वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगरमा रहेको एक अवैध गोदाममा सोमबार बिहान सशस्त्र प्रहरीले छापा मार्दा तस्कर समूहसँग झडप भएको छ। झडपका क्रममा व्यापारी समूहको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डारण गरी राखिएको कपडा बरामद गर्ने क्रममा उक्त घटना भएको हो। छापाका क्रममा करिब ७ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार कपडा बरामद भइसकेपछि तस्कर समूहले ढुंगामुढा गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए। आक्रमणबाट एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको छ।
घाइते प्रहरीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। घटनामा संलग्न तस्करहरूको पहिचान गरी पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


