Lucky-Khabar_

रौतहटमा पेट्रोल पम्प आक्रमणपछि जाहेरी नलिएको आरोप

रौतहट | गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यमाथि कुटपिट तथा लुटपाटसम्बन्धी जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ। घटनाका पीडित पक्षले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै आइतबार पत्रकार सम्मेलन गरेका हुन्।

content ad p2

गरुडा–६ शिवनगरमा रहेको आदर्श आयल स्टोरका सञ्चालक राकेश चौधरीका अनुसार, गत माघ १५ गते राति पेट्रोल भरेको पैसाको विवादलाई लिएर एक समूहले पम्पमा आक्रमण गरेको थियो। आक्रमणका क्रममा वडा अध्यक्ष रामबाबु चौधरीका छोराहरू रञ्जित र रोहित चौधरी घाइते भएका थिए। रञ्जितको नाकमा गम्भीर चोट लागेकाले काठमाडौंमा शल्यक्रियाको तयारी भइरहेको परिवारले जनाएको छ। साथै, घटनाका क्रममा ६५ हजार रुपैयाँ लुटिएको पीडित पक्षको दाबी छ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष रामबाबु चौधरीले डीएसपी आचार्यमाथि गम्भीर आरोप लगाउँदै भने, “नामै किटान गरेर डाँका तथा ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दिन खोज्दा पनि प्रहरीले ‘अभद्र व्यवहार’ को जाहेरी मात्र दर्ता गर्न सुझाव दियो। घटना प्रहरी चौकीबाट करिब ३० मिटरको दूरीमै भएको भए पनि सुरक्षा उपलब्ध गराइएन। यसले प्रहरी अपराधीलाई जोगाउन खोजेको जस्तो देखिन्छ।”

यद्यपि, डीएसपी आचार्यले आफूविरुद्ध लगाइएका आरोपको खण्डन गरेका छन्। उनले सीसीटीभी फुटेजको अध्ययन भइरहेको उल्लेख गर्दै घटनामा लुटपाट वा ज्यान मार्ने उद्देश्य स्पष्ट नदेखिएको बताए। “जाहेरी नै नआएकाले मुद्दा दर्ता हुन सकेको छैन। प्रमाणका आधारमा आरोप पुष्टि गर्नु चुनौतीपूर्ण छ,” उनले भने।

यस घटनापछि स्थानीयस्तरमा प्रहरीको सक्रियता र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। पीडित पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारी निकायसँग माग गरेका छन्।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर