बिरगंज| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक उम्मेदवार कृपा महर्जन निर्वाचन प्रचारका क्रममा पाँच दिन पर्सामा सक्रिय रहिन्। पार्टीको केन्द्रीय निर्णयअनुसार पर्सा खटिएकी महर्जनले जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवारहरूसँग मिलेर घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग भेटघाट गरिन्।

प्रचारका क्रममा उनले देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै स्थिर र परिवर्तनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिन्। त्यसका लागि रास्वपालाई बहुमत दिलाउन घण्टी चिन्हमा मतदान गर्न उनले आग्रह गरिन्। पर्सा क्षेत्र नं. १ अन्तर्गत वीरगञ्जलगायतका स्थान, क्षेत्र नं. २ का विभिन्न वडाहरू, क्षेत्र नं. ३ को बहुदरमाई नगरपालिका तथा क्षेत्र नं. ४ अन्तर्गत ठोरीलगायतका क्षेत्रमा पुगेर उनले उम्मेदवारहरूसँग संयुक्त रूपमा मत मागिन्।

चारै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनेमा आफू विश्वस्त रहेको महर्जनले बताइन्। यसै क्रममा धोबिनी गाउँपालिकामा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गरेका व्यक्तिहरूलाई उनले स्वागत गरिन्। कार्यक्रममा रास्वपाकी पर्सा जिल्ला कार्यबाहक सभापति तुलसा अधिकारीको पनि उपस्थिति थियो।
पाँच दिनको वीरगञ्ज बसाइमा जनताबाट उत्साहजनक प्रतिक्रिया र समर्थन प्राप्त भएको उल्लेख गर्दै महर्जनले आगामी निर्वाचनमा पार्टीले स्पष्ट बहुमत हासिल गर्ने विश्वास व्यक्त गरिन्।



