वीरगंज । जनकपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिला प्रहरीको ज्यान गएको छ भने एक प्रहरी निरीक्षक घाइते भएका छन्।

दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान चन्द्रकला कुमारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी मोटरसाइकलको पछाडि सवार थिइन्।
प्रहरीका अनुसार मधेश प्रदेश प्रहरी कार्यालयको लेखा शाखामा कार्यरत प्रहरी निरीक्षक विजय कुमार यादवले चलाएको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३–००१ क ०१०४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो। मोटरसाइकल मुरली चोकबाट जिरोमाइलतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी चन्द्रकलाको उपचारका क्रममा ज्यान गएको हो। मोटरसाइकल चालक प्रहरी निरीक्षक यादव भने घाइते भएका छन्।
दुर्घटनापछि दुवै सवारीसाधनसहित टिपर चालक ३० वर्षीय सुनिल रविदासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। रविदास धनुषाको मिथिला नगरपालिका–२, आनन्दपुर निवासी हुन्।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


