१३ फाल्गुण, काठमाडौं । देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग ले सूचना चुहावटको आरोपमा कारबाही भोगेका एक उच्च अधिकारीलाई झन् संवेदनशील निकायमा सरुवा गरेपछि सुरक्षा वृत्तमा चासो र आश्चर्य व्यक्त गरिएको छ।

विभागका उप–अनुसन्धान निर्देशक (प्रहरी एसपी सरह) शेरजंगबहादुर चन्दमाथि गोप्य सूचनाहरू अनधिकृत रूपमा बाहिर ल्याएको र विभागीय गोपनीयता उल्लंघन गरेको आरोप लागेको थियो। उक्त विषयमा परेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशनमा उनीमाथि प्रशासनिक कारबाही गरिएको थियो। विभागले उनलाई दण्डस्वरूप एक ग्रेड रोक्का गरेको जनाएको छ।

तर, कारबाहीपछि पनि चन्दलाई मुलुकको सुरक्षा नीति तथा रणनीति निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय सुरक्षा परिषद् मा काज सरुवा गरिएको छ। परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा सञ्चालन हुने र नेपाली सेनाले नेतृत्व गर्ने संवेदनशील निकाय हो।
स्रोतका अनुसार, चन्दले विभागद्वारा तयार पारिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूलाई निजी प्रस्तुतीका रूपमा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरेका थिए। यस कार्यले गुप्तचर संयन्त्रको आधारभूत सिद्धान्त र गोपनीयताको मर्ममा आघात पुगेको भन्दै उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको थियो।
विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) ओम जोशीको नेतृत्वमा बसेको निर्णय प्रक्रियाबाट कारबाही गरिए पनि, नयाँ जिम्मेवारी भने अझै संवेदनशील निकायमा दिइनुले निर्णयको औचित्यमाथि प्रश्न उठेको छ।
यसअघि सिंहदरबारस्थित विभागको मुख्यालयमा महत्त्वपूर्ण सूचना संकलन शाखामा कार्यरत चन्दलाई फागुन ८ गतेदेखि लागू हुने गरी सुरक्षा परिषद् पठाइएको पत्र जारी गरिएको जनाइएको छ।
गम्भीर प्रकृतिको सूचना चुहावटको आरोप खेपेका अधिकारीलाई रणनीतिक सुरक्षा निकायमा सरुवा गर्नुले कारबाही प्रभावकारी भएको वा नभएको भन्ने बहस चुलिएको छ। सुरक्षा विज्ञहरूले पनि यस निर्णयले भविष्यमा सुरक्षा सूचना व्यवस्थापनमा थप जोखिम निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।


