वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले चुनावी अभियानलाई तीव्रता दिएका छन्। यस क्रममा उनले वीरगन्ज महानगरपालिकाको लालपर्सामा कोणसभा तथा घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

वीरगन्ज महानगरपालिका–३०, लालपर्सामा दीपेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कोणसभामा बोल्दै उम्मेदवार पन्तले देशमा ठोस परिवर्तनका लागि मतदाताले यसपटक नयाँ विकल्प रोज्नुपर्ने बताए। पुरानो राजनीतिक कार्यशैलीबाट विकास सम्भव नभएको उल्लेख गर्दै उनले नयाँ सोच र स्पष्ट योजनासहित रास्वपा चुनावी मैदानमा उत्रिएको धारणा राखे।
कार्यक्रमको सञ्चालन रास्वपाका जिल्ला सहसचिव तथा समानुपातिक उम्मेदवार कृष्णा पासवानले गरेका थिए। कार्यक्रममा स्थानीय विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुरलगायतले आ–आफ्नो धारणा राख्दै उम्मेदवार पन्तलाई विजयी गराउन प्रतिबद्ध रहेको बताए। उनीहरूले क्षेत्रको समग्र विकासका लागि पन्त उपयुक्त उम्मेदवार भएको दाबी समेत गरे।
त्यसैगरी, वीरगन्ज महानगरपालिका–२, घुसुकपुरमा आयोजित घरदैलो कार्यक्रममा पनि पन्तले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै मत मागेका छन्। रास्वपा नेता महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीले पन्तलाई स्वागत गरेका थिए। भेटघाटका क्रममा उनीहरूले यसपटक पन्तलाई संसद्मा पुर्याउन सहयोग गर्ने आश्वासन दिएका छन्।


