काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ–१ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज हुन लागेको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार रहेको निर्वाचन आयोग ले स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्ने दाबीमा कुनै सत्यता नभएको बताएका छन्। केही सञ्चारमाध्यमले तामाङसँग जर्मनीको स्थायी आवास (पीआर) रहेको दाबी गर्दै आयोगले उम्मेदवारी रद्द गर्न लागेको समाचार प्रकाशन गरेका थिए। सो समाचार सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो।
प्रवक्ता भट्टराईले “मिडियाले आफैं निर्णय सुनाउने काम गरिरहेका छन्, तर यसबारे आयोगमा कुनै निर्णय भएको छैन,” भन्दै उक्त विषयमा आयोगमा कुनै छलफलसमेत नभएको जानकारी दिए। उनले यसलाई ‘मिडिया ट्रायल’को प्रयास भएको टिप्पणीसमेत गरे।

मनोनयन दर्ताका क्रममा पनि तामाङसँग जर्मनीको पीआर रहेको आरोप उठाइएको थियो। त्यसबेला तामाङले विगतमा जर्मनीको अस्थायी बसोबास (टीआर) भिसा भए पनि हाल निष्क्रिय भइसकेको स्पष्ट पारेकी थिइन्। आवश्यक जाँचबुझपछि आयोगले उनको मनोनयनपत्र स्वीकृत गरेको थियो।

आयोगका अनुसार हालसम्म तामाङको उम्मेदवारी यथावत् रहेको छ।


