२१ फागुन, वीरगञ्ज । आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाताको सहभागिता उत्साहजनक देखिएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले मत खस्ने विवरण संकलनको काम जारी रहेको बताउँदै अन्तिम तथ्याङ्क आउन केही समय लाग्ने जानकारी दिए।
पर्सा जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका छन्, जहाँ कुल ३ लाख ७६ हजार ५३१ मतदाता रहेका छन्। देशभर आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान सम्पन्न भएको थियो।
मतदानका क्रममा मतदाताले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन सुरक्षाकर्मीहरू पर्याप्त संख्यामा परिचालन गरिएको थियो, जसका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ।
निर्वाचन अधिकृतहरूले मतदाता तथा कर्मचारीलाई संयमित रहँदै मतदान प्रक्रिया सुचारु बनाउन सहयोग गर्न आग्रह गरेका छन्। प्रारम्भिक विवरणअनुसार पर्सामा मतदान प्रतिशत उच्च देखिए पनि अन्तिम नतिजा आउन अझ केही समय लाग्ने बताइएको छ।


