वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि) ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। उनका निर्वाचन प्रतिनिधि महमद मसुदिन आलमले जिल्ला निर्वाचन कार्यालय पर्सामा १० लाख २२ हजार ७ सय रुपैयाँ बराबरको खर्च विवरण पेश गरेका हुन्।

२०८२ चैत ८ गते दर्ता गरिएको उक्त विवरण अनुसार चुनावी अभियानका विभिन्न शीर्षकमा खर्च गरिएको रकम उल्लेख गरिएको छ। कुल खर्चमध्ये सवारी साधन भाडा र प्रचार सामग्रीमा सबैभन्दा बढी रकम खर्च भएको देखिन्छ। दुई वटा सवारी साधन भाडामा लिनका लागि २ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ भने फ्लेक्स प्रिन्टिङमा १ लाख ३५ हजार र अन्य प्रचार सामग्री छपाइमा १ लाख ६५ हजार ५ सय ५० रुपैयाँ खर्च गरिएको उल्लेख छ।
यसैगरी उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली प्रिन्टमा २२ हजार रुपैयाँ तथा कार्यकर्ता र स्वयंसेवकका लागि खाजा, गोष्ठी र सम्मेलनमा १ लाख ४० हजार १ सय ५० रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। झण्डा निर्माणमा मात्र १ लाख २३ हजार रुपैयाँ खर्च भएको पनि उल्लेख गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि अनिवार्य रूपमा खर्च विवरण पेश गर्नुपर्ने प्रावधान छ। पन्तको खर्च विवरण जिल्ला निर्वाचन कार्यालय पर्सामा दर्ता नम्बर २१६ मा अभिलेख गरिएको छ, जसले चुनावी खर्चलाई पारदर्शी बनाउने प्रयासलाई झल्काउँछ।


