बिरंजग| महोत्तरीको बर्दिबासमा अटो रिक्सा गुडिरहेको देख्दा धेरैको ध्यान स्वतः त्यसतर्फ तानिन्छ । अझ चालक महिला भए झन् धेरैलाई अचम्म लाग्छ । त्यही भीडमा आत्मविश्वासका साथ अटो चलाउँदै देखिने नाम हो—लक्ष्मी अधिकारी ।

बर्दिबास नगरपालिका–३ गौरीडाँडाकी लक्ष्मीले विगत चार वर्षदेखि अटो चलाउँदै आएकी छन् । हाल बर्दिबास क्षेत्रमा अटो चलाउने थोरै महिलामध्ये उनी एक हुन् । अझ रोचक कुरा, उनी पहिले साइकलसमेत चलाउन जान्दिनथिन् । तर दृढ इच्छाशक्ति र साहसका कारण आज उनी महिनामा करिब ५० हजार रुपैयाँ आम्दानी गर्न सफल भएकी छन् ।
चार वर्षअघि आर्थिक अभावका कारण छोरालाई कापी–कलम किन्न नसक्दा उनी निकै भावुक बनेकी थिइन् । त्यही पीडाले उनलाई केही गर्न प्रेरित गर्यो । अटो कसरी किन्ने र चलाउने भन्ने कुनै अनुभव नभए पनि अरूको सहयोगमा सिकिन् । केही महिनामै लाइसेन्स निकाल्दै उनले अटो चलाउन थालिन् ।
लक्ष्मी भन्छिन्, “पहिले सानो खर्चसमेत जुटाउन गाह्रो हुन्थ्यो । अहिले भने घरखर्च चलाउन, मासु–भात खान र बचत गर्नसमेत सकिन्छ ।”
उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् । त्यहाँबाट आएको पैसालाई सदुपयोग गर्दै उनले अटो किनेकी थिइन् । निरन्तर मेहनत र अनुशासनका कारण उनले दुई वर्षमै अटोको किस्ता तिरेर आफ्नो नाममा नामसारी गराइसकेकी छन् ।
अहिले उनी महिनामा ३०–३५ हजार रुपैयाँसम्म बचत गर्ने बताउँछिन् । नियमित बचत गर्ने बानीले उनलाई अझ आत्मनिर्भर र आत्मविश्वासी बनाएको छ ।
लक्ष्मीको दिन बिहान ६ बजेदेखि सुरु हुन्छ । घरको काम सकाएर छोराछोरीलाई विद्यालय पठाएपछि उनी अटो लिएर काममा निस्किन्छिन् । बेलुका घर फर्किएपछि फेरि घरपरिवार सम्हाल्ने जिम्मेवारी पूरा गर्छिन् ।
उनको यो संघर्षपूर्ण यात्राले समाजमा सकारात्मक सन्देश दिएको छ । छिमेकीहरू र स्थानीय व्यवसायीहरूका अनुसार लक्ष्मीले महिलाहरूले चाहेमा कुनै पनि काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छन् ।
लक्ष्मी अधिकारीको कथा केवल आम्दानीको मात्र होइन, आत्मनिर्भरता, साहस र निरन्तर मेहनतको प्रेरणादायी कथा हो ।


