१ बैशाख, काठमाडौं । गगन कुमार थापा ले पार्टीभित्र बढ्दो गुटगत तनाव र आन्तरिक खिचातानीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै संस्थापन पक्षलाई स्पष्ट चेतावनी दिनुभएको छ।

नयाँ वर्ष २०८३ को अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफ्नो विनम्रता र लचकतालाई कमजोरीका रूपमा नबुझ्न आग्रह गर्नुभयो। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी आफूमा रहेको उल्लेख गर्दै उहाँले अनुशासनविपरीत हुने गतिविधि सह्य नहुने प्रष्ट पार्नुभयो।
‘जिम्मेवारीमा भएको व्यक्ति विनम्र हुनुपर्छ, तर त्यसलाई कमजोरी ठानेर पार्टीमा खिचपिच गरिन्छ भने त्यो सहेर बसिँदैन,’ भन्दै थापाले विशेषगरी शेरबहादुर देउवा निकट नेताहरूको गतिविधिप्रति संकेत गर्नुभयो। पार्टी कार्यालय बाहिर हुने अनधिकृत तथा समानान्तर गतिविधिहरू नियन्त्रण बाहिर गए कडा कदम चालिने उहाँको चेतावनी थियो।
पार्टीको सांगठनिक सुदृढीकरणका लागि सुरु गरिएको ‘जरा अभियान’ लाई सफल बनाउन सबै नेताहरूको सहयोग आवश्यक रहेको बताउँदै थापाले असन्तुष्ट पक्षलाई संयमित हुन आग्रह गर्नुभयो। ‘सक्नेले सहयोग गर्नुहोला, नसक्नेले कम्तीमा अवरोध नगर्नुहोला,’ भन्ने सन्देश उहाँले दिनुभयो।
आगामी महाधिवेशन र आम निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई व्यवस्थित र सक्षम बनाउने मुख्य जिम्मेवारी आफ्नो काँधमा रहेको थापाको भनाइ छ। साथै, प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउन एकता अपरिहार्य रहेको उहाँले जोड दिनुभयो।
यसैबीच, नेपाली कांग्रेस को भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा देखिएको विवाद समाधानका लागि कार्यसम्पादन समितिको बैठक बस्ने तयारी भइरहेको छ। उक्त बैठकले पार्टीभित्रको पछिल्लो अन्योल अन्त्य गर्ने अपेक्षा गरिएको छ।
थापाको यो ‘आक्रामक’ अभिव्यक्तिले कांग्रेसभित्रको शक्ति सन्तुलन, गुटगत समीकरण र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सुरु गराएको देखिन्छ।



