वीरगञ्ज । लामो समयदेखि विवाद र कानुनी प्रक्रियामा अड्किएको वीरगञ्ज को मुख्य सडक (मेनरोड) विस्तार कार्य आज (शनिबार) साँझदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई दायाँ–बायाँ २५–२५ मिटर विस्तार गर्ने योजना अनुसार संरचना हटाउने काम एकैसाथ पाँच स्थानबाट सुरु गरिनेछ। सडक डिभिजन कार्यालय हेटौंडा का अनुसार ९ वटा भारी उपकरण—डोजर, जेसीबी र एक्साभेटर—तयारी अवस्थामा वीरगञ्ज ल्याइसकिएको छ।
सडक डिभिजन कार्यालयका नायब सुब्बा राजकुमार अर्याल ले सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने प्रक्रिया आजैदेखि सुरु हुने जानकारी दिएका छन्।
आज साँझ वीरगञ्ज महानगरपालिका का मेयर राजेशमान सिंह को कार्यकक्षमा अन्तिम समन्वय बैठक बस्ने तयारी छ। उक्त बैठकमा सडक डिभिजन, नापी, टेलिकम, खानेपानी तथा विद्युत प्राधिकरणका प्रमुखहरू सहभागी हुनेछन्। बैठकपछि महानगरपालिका र सुरक्षा निकायको समन्वयमा एकैसाथ पाँच स्थानमा डोजर परिचालन गरिनेछ।
यो सडक विस्तार १३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको थियो। सर्वोच्च अदालत ले २०८१ फागुन २८ गते रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि विस्तारको बाटो खुलेको हो।
यसअघि २०६९ सालदेखि नै सडक विभागले सूचना जारी गर्दै सडक क्षेत्रमा पर्ने संरचना हटाउन आग्रह गर्दै आएको थियो। करिब १,२०० घरधनीले मुआब्जा, वैकल्पिक व्यवस्था र योजनाको आवश्यकता नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। लामो समयदेखि पेसी सर्दै आएको मुद्दा अन्ततः टुंगिएपछि परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो।
२०७६ सालमा पनि १५ दिने सूचना जारी गर्दै घरधनीलाई आफैं संरचना हटाउन आग्रह गरिएको थियो। नापी कार्य सम्पन्न भइसकेको यो आयोजना अब पूर्ण रूपमा कार्यान्वयनमा जाने तयारीमा छ।
सडक विस्तारपछि वीरगञ्ज–मितेरी पुल खण्ड फराकिलो, व्यवस्थित र यातायात सहज हुने अपेक्षा गरिएको छ। तर विस्थापन, मुआब्जा र स्थानीय असन्तुष्टि जस्ता विषय अझै संवेदनशील रहेका छन्।


