सिमरा| पथलैया–वीरगञ्ज सडक खण्डअन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–९, छातापिपरामा गत सोमबार बिहान एक पुरुषको शव फेला पर्यो। व्यस्त राजमार्गको छेउमै लडिरहेको अवस्थामा देखिएपछि स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेका थिए।

ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर मुचुल्का तयार गर्ने क्रममा घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढायो। मृतक पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३५ वर्षीय पल्टु माझी मुसहर भएको पहिचान भयो। प्रारम्भिक अनुसन्धानमै घटनास्थल नजिकै जडान गरिएको सिसिटिभी क्यामराको फुटेज निर्णायक सावित भयो।
फुटेजमा निलो रङको बा ३ च १४४३ नम्बरको कारबाट केही व्यक्तिहरूले शव सडकमा छोडेर भागेको देखिएपछि प्रहरीको अनुसन्धान तीव्र बन्यो। ईलाका प्रहरी कार्यालय सिमराले प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा विशेष टोली गठन गरी अनुसन्धान अघि बढायो।
सिसिटिभीको आधारमा कार सिमरा हुँदै मकवानपुरतर्फ गएको देखिएपछि प्रहरी सहायक निरीक्षकको टोलीले पछ्याउँदै खोजी सुरु गर्यो। अन्ततः घटनाको भोलिपल्ट काभ्रेको बनेपा नगरपालिका–८, धुलबजारस्थित एक अटो वर्कशपबाट उक्त कारसहित चालक मुन्ना भनिने समिउल्लाह आलम पक्राउ परे।
प्रहरी अनुसन्धानका क्रममा आलमले कार भाडामा चलाइएको स्वीकारे। सोही कारमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ का २० वर्षीय विशाल साह र बारा फेटा गाउँपालिका–३ का २५ वर्षीय कौशल देवान पनि सवार रहेको खुलेपछि उनीहरूलाई पनि पक्राउ गरियो।
अनुसन्धानबाट मृतक माझी, साह र देवान तीनै जना निर्माण मजदुर भएको र काभ्रेको पाँचखालमा बसेर काम गर्दै आएको खुलेको छ। उनीहरूलाई वीरगञ्जका एक ठेकेदारले काममा लगाएका थिए।
प्रारम्भिक बयानअनुसार माझी केही दिनदेखि बिरामी थिए र अवस्था बिग्रँदै गएको थियो। तर बिरामी अवस्थामा परिवारलाई खबर नगरी उनलाई कारमा राखेर बारा ल्याइयो। साह र देवानका अनुसार बाटोमै उनको मृत्यु भएपछि शव सडक किनारमा छोडिएको थियो।
यद्यपि प्रहरीले यो दाबीलाई पूर्ण रूपमा स्वीकारेको छैन। शव व्यवस्थापनको तरिका र घटनाको प्रकृति शंकास्पद देखिएकाले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
“बाटोमै मृत्यु भएको भनेर भनिएको छ, तर घटना रहस्यमय छ,” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए, “थप तथ्यहरू क्रमशः खुल्दै जानेछन्।”
घटनापछि मृतकका परिवारले कार चालक, ठेकेदार र दुई मजदुरसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।मृतक माझीको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।


