कलैया, ११ बैशाख
सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कानु युथले बारा जिल्लाको कलैया उपमहानगरपालिका–३ भवानीपुर निवासी आर्थिक रूपमा विपन्न एक कुर्मी परिवारलाई छोरीको विवाहका लागि २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।उक्त परिवारकी छोरीको वैशाख १२ गते हिन्दु परम्परा अनुसार विवाह हुने तयारी भइरहेका बेला आर्थिक अभावका कारण समस्या उत्पन्न भएपछि कानु युथ वीरगंजले आवश्यक खाद्य सामग्री उपलब्ध गराएको हो।

कानु युथका सचिव श्रवण साहले समाजमा रहेका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउँदै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।
सहयोग सामग्री अन्तर्गत २ बोरा चामल, २० किलो मसुरो, २० किलो चिनी, १ बोरा आलु, २० किलो प्याज, १ जार रिफाइन तेल, १ टिन सरसो तेल, २० किलो मैदा, १० किलो बेसन, २ सिलिन्डर ग्यास तथा हरियो तरकारी लगायतका सामग्री प्रदान गरिएको जानकारी दिइएको छ।
कानु युथका अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य देवेन्द्र साह कानु, कानु समाज बारा का रमेश साह कानु, अजय साह लगायतको सहभागिता रहेको थियो।
यस सहयोगले स्थानीय समुदायमा सहकार्य र मानवीय संवेदनाको सकारात्मक सन्देश प्रवाह गरेको छ।


