जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशस्तरीय संगठनात्मक बैठक शुक्रबार जनकपुरधाम–९ स्थित प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ।

प्रदेश सभापति तथा सांसद तपेश्वर यादवको अध्यक्षतामा आयोजित बैठकमा केन्द्रीय संगठन विभागका उपप्रमुख एवं सांसद बोधनारायण श्रेष्ठ, केन्द्रीय सदस्य तथा सांसद कामनी चौधरी, साथै डा. विमल तिवारी लगायतका नेताहरूको सहभागिता रहेको थियो।
बैठकमा मधेश प्रदेशका आठै जिल्लाबाट आएका सभापति, सचिव तथा संगठन विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। पार्टीका महामन्त्री मनिष साहका अनुसार संगठन सुदृढीकरणका लागि पाँच बुँदे निर्णय गरिएको छ।
निर्णयअनुसार प्रदेशभित्र बाँकी रहेका वडा तथा पालिकास्तरका तदर्थ समिति जेठ मसान्तभित्र गठन गरिनेछ भने गठन भइसकेका समितिलाई समयमै अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ। यस्तै, संगठन निर्माण तथा अधिवेशनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित निकायलाई कम्तीमा तीन दिनअघि जानकारी गराउने र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने व्यवस्था गरिनेछ।
यसैगरी, कार्यक्रमहरूमा सम्बन्धित क्षेत्रका सांसदको उपस्थिति सुनिश्चित गर्न प्रदेश समिति वा संगठन विभागले समन्वय गर्ने निर्णय गरिएको छ। बैठकले प्रदेश संगठन विभागका रिक्त पदहरू पूर्ति गर्न जिल्ला समितिलाई एक साताभित्र सिफारिस पठाउन निर्देशन दिएको छ भने जिल्ला तथा पालिका तहका संगठन विभागलाई पूर्णता दिन जोड दिएको छ।
लेबी शुल्क नतिरेका पदाधिकारीलाई अधिवेशनमा सहभागी हुन नदिने निर्णयसमेत गरिएको छ। साथै, मधेश प्रदेशका जिल्लाहरूमा सुक्खा याममा हुन सक्ने खानेपानी संकटलाई ध्यानमा राख्दै पूर्वतयारी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै प्रदेश सभापति यादवले पार्टीभित्र गुटबन्दी र अनुशासनहीन गतिविधि सह्य नहुने स्पष्ट पार्दै पार्टी हितविपरीत कार्य गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।


