वीरगञ्ज | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि पन्त ले आगामी आर्थिक वर्षको बजेटमा नारायणी रंगशाला र नारायणी अस्पताल लाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले मधेश प्रदेशको प्रमुख व्यापारिक शहर वीरगञ्ज ले देशको अर्थतन्त्र र राजस्व संकलनमा ठूलो योगदान पुर्याउँदै आए पनि विकास निर्माणका योजनामा निरन्तर उपेक्षा भोग्दै आएको आरोप लगाए ।

उनले दशरथ रंगशालापछिको ठूलो रंगशालाका रूपमा परिचित नारायणी रंगशालाको स्तरोन्नति तथा ऐतिहासिक नारायणी अस्पतालको सेवा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे ।
यसैगरी सांसद पन्तले वीरगञ्जस्थित सानोपाइला सहकारी का बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
उनले गण्डकदेखि वीरगञ्ज भन्सारसम्मको करिब पाँच किलोमिटर सडक क्षेत्रमा गरिएको संरचना हटाउने अभियानप्रति असन्तुष्टि व्यक्त गर्दै छोटो सूचना र स्पष्ट योजना बिना डोजर चलाउँदा करिब १ हजार २०० घरधुरी प्रभावित भएको बताए । उनका अनुसार उक्त अभियानका कारण सयौं परिवार घरबारविहीन बनेका छन् ।
वीरगञ्जको मुख्य बजार क्षेत्रमा देखिएको समस्या केवल अव्यवस्थित बस्तीको विषय नभएको उल्लेख गर्दै उनले प्रभावित नागरिकहरूको उचित व्यवस्थापन र समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।


