Lucky-Khabar_

७६ क्याप्सुल कोकिन पेटबाट निकालियो, तीन विदेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय लागुऔषध तस्करीका लागि नेपाललाई ट्रान्जिट मार्गका रूपमा प्रयोग गर्ने प्रयास फेरि उजागर भएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले राजधानीको ठमेलबाट डेढ किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

content ad p2

पक्राउ पर्नेमा इथियोपियाबाट कतारको दोहा हुँदै नेपाल आएका सेनेगलका ४३ वर्षीय आमादु सार तथा उक्त कोकिन बुझ्न भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका दुई भारतीय महिला ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन्।

प्रहरीका अनुसार जेठ २६ गते काठमाडौं आइपुगेका सारमाथि शंकाका आधारमा निगरानी राखिएको थियो। ठमेलस्थित एक होटलमा पुगेर खानतलासी गर्दा उनको मुखबाट सुरुआतमै १६ वटा कोकिन क्याप्सुल बरामद भएको थियो। त्यसपछि गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको पेटभित्र थप ६० वटा क्याप्सुल रहेको पुष्टि भएको थियो।

चिकित्सकहरूको सहयोगमा पेटबाट निकालिएका ती क्याप्सुलसहित कुल ७६ वटा क्याप्सुलबाट १ किलो ५०० ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ। शरीरभित्र लागुऔषध लुकाएर ओसारपसार गर्ने यस्तो तरिकालाई अत्यन्त जोखिमपूर्ण र अमानवीय मानिन्छ, जसले तस्करको ज्यानसमेत जोखिममा पार्न सक्छ।

अनुसन्धानका क्रममा बरामद कोकिन बुझ्न भारतीय नागरिक रुबी र सोनी काठमाडौं आएको खुल्न आएको थियो। प्राप्त सूचनाका आधारमा प्रहरीले आइतबार ठमेलबाटै दुवै महिलालाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेकाहरूको साथबाट राहदानी, आधार कार्ड र तीन थान मोबाइल फोनसमेत बरामद गरिएको छ। तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनबमोजिम म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूले नेपाललाई ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गर्ने प्रयास बढ्दै गएको देखिएको छ। यस घटनाले सीमापार आपराधिक सञ्जालको सक्रियता र त्यसविरुद्ध सुरक्षा निकायले अपनाउनुपर्ने उच्च सतर्कताको आवश्यकता पुनः उजागर गरेको छ।

सम्बन्धित खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर

रास्वपाको पहिलो महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान

लक्की खबर