Lucky-Khabar_

गौरसंगै दर्जनौँ बस्तीमा डुबानको जोखिमको चिन्ता

रौतहट । रौतहटको गौर–बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतको नाममा बाँधलाई थप अग्लो र बलियो बनाइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार अन्तर्राष्ट्रिय अभ्यास र नेपाल–भारतबीचको द्विपक्षीय समझदारीको भावना विपरीत भइरहेको उक्त कार्यले आगामी वर्षायाममा गौरसहित दर्जनौँ नेपाली बस्तीमा डुबानको जोखिम झनै बढाएको छ।

content ad p2

स्थानीयवासीले सीमा क्षेत्रको दशगजा वा त्यसको आसपास दुवै देशको सहमतिबिना कुनै पनि स्थायी भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नहुने प्रचलित व्यवस्था रहे पनि भारतीय पक्षले बाँधमा माटो थप्दै यसको उचाइ र चौडाइ बढाइरहेको आरोप लगाएका छन्।

स्थानीय अमित केशरीका अनुसार भारतले बैरगनियालगायत बिहारका सहरलाई बाढीबाट जोगाउने उद्देश्यले सीमा क्षेत्रमा करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध निर्माण गरेको थियो। तर त्यसको प्रत्यक्ष असर नेपालतर्फ परेको भन्दै उनले बाँधका कारण बाढीको प्राकृतिक बहाव अवरुद्ध हुँदा गौरसहित दर्जनौँ नेपाली गाउँहरू हरेक वर्ष डुबानमा पर्ने गरेको बताए।

उनका अनुसार बैरगनियाको पूर्वी क्षेत्रमा रहेको बाँधका तीनवटा सुलीसगेट भारतीय पक्षले बन्द गरिदिने गरेकाले सदरमुकाम गौर जलमग्न हुने गरेको छ। गौर डुबानमा परेपछि नेपालीहरूले बाँध भत्काउने वा सुलीसगेट खोल्ने प्रयास गर्न सक्ने आशंकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली २४सै घण्टा हतियारसहित बाँध क्षेत्रमा तैनाथ रहने गरेको उनको दाबी छ।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले बाँध अग्लो बनाइँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले सहज निकास पाउन नसक्ने बताए। उनका अनुसार पानीको बहाव अवरुद्ध भई ‘ब्याक’ भएर गौर तथा आसपासका बस्तीमा पस्ने र प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको छ।

श्रेष्ठका अनुसार केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यकालमा भारतीय पक्षले यस्तै गरी बाँधमा माटो थप्न खोज्दा स्थानीय प्रशासन र सशस्त्र प्रहरीले आपत्ति जनाएपछि उक्त काम रोकिएको थियो। तर अहिले फेरि सोही प्रकृतिको गतिविधि दोहोरिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारतबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना निर्माण गर्न नहुने बताए। तर भारतले मर्मतको बहानामा बाँधमा मनपरी ढंगले माटो थप्ने र चौडाइसमेत बढाउने काम गरिरहेको आरोप उनले लगाए।

उनका अनुसार वाग्मती नदीदेखि पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्म फैलिएको करिब पाँच किलोमिटर लामो बाँधका कारण गौर नगर क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ। विसं २०७७ मा आफू नगरप्रमुख हुँदा महादेवपट्टि क्षेत्रमा बकैया नदीमा तटबन्ध निर्माण गर्न खोज्दा भारतीय पक्षले अवरोध गरेको अनुभवसमेत उनले सुनाए।

यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामढी जिल्लाका जिल्ला अधिकारी (डीएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए। उनका अनुसार भारतीय पक्षले उक्त काम केन्द्रीय सरकारको निर्देशनअनुसार भइरहेको जवाफ दिएको छ।

स्थानीय सरोकारवालाहरूले यो विषय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय समझदारी र दुई देशबीचको कूटनीतिक सम्बन्धसँग जोडिएको संवेदनशील विषय भएकाले नेपाल सरकारले औपचारिक कूटनीतिक पहलमार्फत स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन्।

भारतद्वारा निर्माण गरिएको उक्त बाँधका कारण रौतहटका राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकाम गौरका नौवटै वडा तथा इशनाथ नगरपालिकाका बैरिया, औरैया र बन्जरहा गाउँलगायतका क्षेत्र बर्सेनि डुबानमा पर्दै आएका छन्। स्थानीयका अनुसार हरेक वर्ष आउने बाढीले करोडौँ रुपैयाँ बराबरको धनजन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएको छ। आगामी मनसुन नजिकिँदै जाँदा डुबानको जोखिम अझ बढ्ने चिन्ताले सीमावर्ती बस्तीका बासिन्दा त्रसित बनेका छन्।

सम्बन्धित खबर

उपचारको बहानामा बिरामी रेफर गरे कारबाही हुने, उदयपुर अस्पतालको चेतावनी

लक्की खबर

इप्रका पोखरियाद्वारा ३७० केजी गाँजा बरामद, संलग्न व्यक्तिको खोजी तीव्र

लक्की खबर

रास्वपाको पहिलो महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान

लक्की खबर