वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (BiCCI), नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI), नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त आयोजनामा आयोजित ‘रोजगार मेला २०८३’ भव्य रूपमा सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका, लिडरसिप डेभलपमेन्ट इन्स्टिच्युट (LDI) तथा HR Society Nepal–Madhesh Chapter को सहकार्यमा वीरगञ्जस्थित होटल भिस्वाको सभाहलमा आयोजित मेलाको उद्घाटन मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष तथा जीतपुर–सिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचिव शिवजीप्रसाद साह, सचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष निरज अग्रवाल तथा मेला संयोजक एवं सहसचिव अनुप अग्रवाललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक हरिप्रसाद पौडेल र छिरिङ तामाङ, HR Society Nepal–Madhesh Chapter तथा Leadership Development Institute (LDI) का अध्यक्ष अनिल जायसवाल, वीरगञ्ज महानगरपालिकाको रोजगार शाखाका प्रमुख सुरज गुप्ता, जीतपुर–सिमरा उपमहानगरपालिकाको रोजगार शाखाका प्रमुख नयिम गनी, विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मेलामा बारा–पर्सा औद्योगिक करिडोरका २२ प्रतिष्ठित उद्योग तथा कम्पनी र चारवटा रोजगार पोर्टल सहभागी भएका थिए। करिब ४५० जना रोजगार खोजिरहेका युवायुवतीले विभिन्न कम्पनीमा प्रत्यक्ष रूपमा आवेदन दर्ता गर्नुका साथै अन्तर्वार्ता दिने र उपलब्ध रोजगारीका अवसरबारे जानकारी लिने अवसर पाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले निजी क्षेत्र, उद्योग, स्थानीय सरकार तथा विकास साझेदारबीचको सहकार्यबाट युवालाई सीप विकास, रोजगारी र उद्यमशीलतासँग जोड्न यस्ता रोजगार मेला प्रभावकारी हुने बताएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका संयोजक जनक अधिकारी रहनुभएको थियो भने सञ्चालन मनोज उपाध्यायले गर्नुभएको थियो।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रोजगार मेला २०८३ सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण आयोजक संस्था, सहकार्य गर्ने निकाय, सहभागी उद्योग–व्यवसाय, रोजगारदाता, विकास साझेदार, सञ्चारकर्मी तथा सहभागी युवायुवतीप्रति हार्दिक आभार व्यक्त गरेको छ।


