काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै अब पार्टीमा दुई वा सोभन्दा बढी वरिष्ठ नेता राख्न सकिने व्यवस्था गरेको छ।

चितवनमा सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित नयाँ विधानमा पार्टीको नीति निर्माण, संगठन विस्तार तथा राजनीतिक नेतृत्वमा विशेष योगदान पुर्याएका व्यक्तिलाई पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय समितिले वरिष्ठ नेताका रूपमा मनोनीत गर्न सक्ने व्यवस्था गरिएको हो।
विधानअनुसार मर्यादाक्रममा पार्टी सभापतिपछिको दोस्रो स्थान वरिष्ठ नेताको हुनेछ। यदि एकभन्दा बढी वरिष्ठ नेता भएमा उनीहरूको वरीयता केन्द्रीय समितिले निर्धारण गरेबमोजिम कायम हुनेछ।
रास्वपाले महाधिवेशनअघि नै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह लाई वरिष्ठ नेताको रूपमा प्रस्तुत गर्दै आएको थियो। नयाँ विधानमा गरिएको व्यवस्थासँगै अब बालेनसहित अन्य अनुभवी तथा प्रभावशाली व्यक्तित्वलाई पनि वरिष्ठ नेताको जिम्मेवारी दिन सकिने बाटो खुलेको छ।
यद्यपि, पहिलो महाधिवेशन सम्पन्न भइसके पनि पार्टीले हालसम्म वरिष्ठ नेतासहित उपसभापति, महामन्त्री, सचिवलगायत अन्य पदाधिकारीहरूको औपचारिक चयन भने गरेको छैन। पदाधिकारी चयनको प्रक्रिया केन्द्रीय समितिको बैठकमार्फत टुंगो लगाइने अपेक्षा गरिएको छ।
रास्वपाले विधान संशोधनमार्फत पार्टी नेतृत्वलाई थप समावेशी, अनुभवसम्पन्न र संस्थागत बनाउने उद्देश्य लिएको जनाएको छ। वरिष्ठ नेताको व्यवस्था पार्टीको दीर्घकालीन राजनीतिक रणनीति तथा नेतृत्व व्यवस्थापनलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


