Lucky-Khabar_

मोटरसाइकलमा किशोरको शव बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ, घटनाबारे अनुसन्धान जारी

काठमाडौं । सप्तरीमा १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको छ भने उनका एक साथी फरार भएका छन्। घटनाबारे प्रहरीले दुर्घटना वा हत्या भन्ने विषयमा गम्भीर अनुसन्धान अघि बढाएको जनाएको छ।

content ad p2

बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा भएको एक घटनामा मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय एक्ला छोरा मोहम्मद सादिकको मृत्यु भएको थियो।

मृत्युपछि बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा किशोरको शव राखेर भाग्दै गरेका दुई जनामाथि प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा रहेको टोलीले शंका लागेपछि पछ्याएको थियो।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा बोदेबरसाईन नगरपालिका–२ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर फरार हुन खोज्ने क्रममा भारतको बिहार राज्य, मधुवनी जिल्ला खतौनी पिपराहीका २८ वर्षीय मोहम्मद सादर नट पक्राउ परेका हुन्। उनका अर्का साथी भने फरार भएका छन्।

पक्राउ परेका मोहम्मद सादर नट बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसमा काम गर्ने कामदार रहेको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै यो दुर्घटना हो वा हत्या भन्ने विषय खुल्न बाँकी रहेको र फरार व्यक्तिको खोजी तीव्र पारिएको बताए।

उक्त घटनाको विरोधमा मृतकका आफन्त तथा स्थानीयवासीले बिहीबार बिहान कठौना क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग करिब ३० मिनेट अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रहरीले अवस्था नियन्त्रणमा लिएपछि यातायात सञ्चालनमा आएको जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर