Lucky-Khabar_

अन्ततः सांसद सुशील कानु र ई. आर्यन राउतको पहलमा तीन महिनापछि अस्ट्रेलियाबाट स्वदेश आयो राकेश पटेलको शव

वीरगञ्ज । अस्ट्रेलियामा निधन भएका पर्सागढी नगरपालिका–७ चैनपुर निवासी २९ वर्षीय राकेश कुमार पटेलको पार्थिव शरीर करिब तीन महिनापछि स्वदेश आएको छ। शुक्रबार राति काठमाडौं आइपुगेको उनको पार्थिव शरीर शनिबार बिहान गृहगाउँ चैनपुरमा अन्त्येष्टि गरिएको छ।

content ad p2

गत वर्ष चैत २० गते अस्ट्रेलियाको तास्मानियास्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका पटेलको शव कानुनी तथा प्रशासनिक प्रक्रियाका कारण लामो समयसम्म नेपाल ल्याउन सकिएको थिएन। मृत्युको कारणबारे हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन। घटनापछि अस्ट्रेलियास्थित नेपाली दूतावासले परिवारलाई जानकारी गराएको थियो।

छोराको शव स्वदेश ल्याइदिन माग गर्दै उनका पिता ब्रिजा राउत कुर्मीले २०८३ वैशाख २३ गते परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। तर प्रक्रिया लामो समयसम्म अघि नबढेपछि परिवार चिन्तित बनेको थियो।

यस विषयलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले असार १८ गते प्रतिनिधिसभा बैठकमा उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनले विदेशमा निधन भएका नेपाली नागरिकको शव सम्मानपूर्वक स्वदेश ल्याउन आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका थिए। त्यसपछि सम्बन्धित निकायबीच समन्वय तीव्र बनेको र शव ल्याउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताइएको छ।

यसैबीच, सांसद कानुले संसद्मा उठाएको विषयको समाचार हेरेपछि अस्ट्रेलियामा रहेका ई.आर्यन राउत सक्रिय भएका थिए। उनले नेपालमा वीरगञ्ज–१५ निवासी रहेका आफ्ना बुबा राम आर्य तथा सांसद कानुसँग समन्वय गरी मृतकका पिता ब्रिजा राउत कुर्मीसँग सम्पर्क गरेर आवश्यक सहमति लिएका थिए।

त्यसपछि आर्यन राउतले आफ्ना अन्य व्यक्तिगत काम स्थगित गर्दै अस्ट्रेलियास्थित Association of Nepal Terai Australia (A.N.T.A.) का पूर्वअध्यक्ष तथा RFM Facility Management का निर्देशक रञ्जित साहलगायत नेपाली समुदायसँग सहकार्य गरी आर्थिक सहयोग संकलन गरेर शव स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया अघि बढाएका थिए। उनको मानवीय पहलप्रति नेपाली समुदायले उच्च प्रशंसा गरेको छ।

शुक्रबार राति काठमाडौं आइपुगेको पार्थिव शरीरलाई सांसद सुशील कुमार कानुसहित मृतकका परिवारजनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्रहण गरेका थिए। त्यसपछि शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पर्सागढी नगरपालिका–७ चैनपुरस्थित निवासमा ल्याइएको थियो। शनिबार बिहान परिवार, आफन्त तथा स्थानीयवासीको उपस्थितिमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार सम्पन्न गरिएको छ।

करिब तीन महिनादेखि छोराको अन्तिम दर्शनको प्रतीक्षामा रहेका परिवारका लागि पार्थिव शरीर स्वदेश आइपुग्नु अत्यन्त भावुक क्षण बनेको छ। परिवारजनले शव स्वदेश ल्याउन विशेष भूमिका निर्वाह गरेका सांसद सुशील कुमार कानु, ई.आर्यन राउत तथा सहयोग गर्ने सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

स्वर्गीय राकेश कुमार पटेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै स्थानीयवासीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर