वीरगञ्ज । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगञ्ज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरेको छ।

शनिबार कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठकले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत–साधन तयारी अवस्थामा राख्ने, पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्ने तथा प्रभावित क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
कार्यवाहक प्रमुखको सचिवालयमा सम्पन्न बैठकले मनसुनको प्रभावका कारण महानगरका केही क्षेत्रमा समस्या देखिन थालेको भन्दै तत्काल अनुगमन टोली परिचालन गर्ने निर्णय गरेको छ। टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी समस्याको समाधानका लागि आवश्यक पहल गर्ने, सम्भावित जोखिमको मूल्याङ्कन गर्ने तथा आवश्यक परे राहत वितरणको पूर्वतयारीसमेत गर्नेछ।
बैठकले मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग निरन्तर सम्पर्कमा रही विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई सक्रिय राख्ने निर्णय गरेको छ। साथै मनसुनबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण, जनशक्ति र अन्य स्रोत–साधन तयारी अवस्थामा राखिने जनाइएको छ।
स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राख्दै बैठकले सम्भावित महामारी तथा विपद्जन्य स्वास्थ्य समस्यालाई ध्यानमा राखी आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने निर्णय गरेको छ। आवश्यक पर्दा तत्काल सेवा प्रवाह गर्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिने तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, महानगरभित्र जोखिम हुन सक्ने क्षेत्रको पूर्वविश्लेषण गर्दै सबै वडा कार्यालयलाई पूर्ण तयारी अवस्थामा रहन तत्काल पत्राचार गर्ने निर्णय भएको छ। विपद्को अवस्थामा स्थानीय तहबाट तत्काल उद्धार, राहत तथा समन्वय गर्न वडा कार्यालयलाई सक्रिय बनाइने महानगरले जनाएको छ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मियाँ, हरिप्रसाद भुसाल तथा बिरगंज महानगर पालिका स्वास्थ शाखा प्रमुख राजु प्रसाद साहलगायतको उपस्थिति रहेको थियो।
वीरगञ्ज महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्दै नगरवासीको सुरक्षा सुनिश्चित गर्न आफ्नो सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ।


