काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा गोली प्रहार भएको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको हो।

प्रहरी कारबाहीका क्रममा एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्। गोली लागेर घाइते भएका भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ र स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरिएको छ। बरामद लागुऔषधको परिमाण र प्रकृतिबारे विस्तृत विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन।

कुलेश्वर पुल नजिकै भएको उक्त घटनापछि प्रहरीले पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको छ। उनीहरूको आपराधिक पृष्ठभूमि, लागुऔषध कारोबारको सञ्जाल तथा अन्य संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।
घटनासम्बन्धी थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।


