वीरगञ्ज । व्यक्तिगत विवादका कारण वीरगञ्ज महानगरपालिका–१८ निवासी रञ्जित यादवमाथि कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ निवासी समीर अन्सारी रहेका छन्। उनलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार रञ्जित यादवमाथि भएको कुटपिट व्यक्तिगत विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा घाइते भएका यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने किसिमका भ्रामक समाचार र सामग्री प्रसारण भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गरी संलग्न व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै अपुष्ट तथा भ्रामक सूचना नफैलाउन सबै सञ्चारकर्मी र सर्वसाधारणसँग आग्रह गरेको छ। साथै, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित भई सही र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न प्रहरीले हार्दिक अपिल गरेको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने जानकारी दिएको छ।


