काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट पटक–पटक बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउँदै आएको कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’ को दुवै दाह्रा काटिएपछि उसको गतिविधि हाल निकुञ्ज क्षेत्रभित्रै सीमित रहेको निकुञ्ज प्रशासनले जनाएको छ।

गत असार ३१ गते सुखिभार पोस्ट नजिक नियन्त्रणमा लिइएको ध्रुवेको दुवै दाह्रा काटिनुका साथै नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो। त्यसयता उसको आक्रामक व्यवहारमा केही कमी आएको निकुञ्ज प्रशासनको भनाइ छ।

निकुञ्जका अनुसार आइतबार बिहान ध्रुवे माडीस्थित रिउ खोला किनारको अमेलिया कृषि फर्म नजिक पुगेको भए पनि त्यसबाहेक बस्तीमा प्रवेश गरेर कुनै क्षति पुर्याएको छैन। सम्भावित जोखिमलाई ध्यानमा राख्दै निकुञ्ज प्रशासन र नेपाली सेनाको अपरेसन टोलीले रेडियो कलरमार्फत प्रत्येक १० मिनेट १० सेकेन्डमा ध्रुवेको अवस्थिति अनुगमन गरिरहेका छन्।
हात्ती बस्ती नजिक पुगेको संकेत प्राप्त हुनासाथ मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय तथा स्थानीय टोल विकास समितिलाई तत्काल पूर्वसूचना दिने व्यवस्था मिलाइएको छ। साथै सुरक्षा टोली परिचालन गरी हात्तीलाई पुनः निकुञ्जभित्र फर्काउने कार्य भइरहेको जनाइएको छ।

संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार नियन्त्रणका क्रममा डार्टमार्फत दिइएको औषधिको प्रभावका कारण ध्रुवे अहिले केही शिथिल देखिए पनि जुनसुकै बेला पुनः बस्ती पस्न सक्ने जोखिम रहेकाले निकुञ्ज प्रशासन पूर्ण सतर्क अवस्थामा रहेको छ।
ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिइसकेको तथ्यांक छ। २०६९ सालमै उक्त हात्तीलाई मार्ने आदेश जारी भए पनि प्रत्येक पटक नियन्त्रणबाट उम्किन सफल भएको थियो। पछिल्लो पटक असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएपछि चौथो पटक उसको दाह्रा काटिएको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार बथानबाट अलग परेका कारण ध्रुवे मानव बस्तीको नजिक पुग्ने गरेको अनुमान गरिएको छ। आगामी दिनमा कुनै अप्रिय घटना दोहोरिन नदिन निकुञ्ज प्रशासनले सुरक्षा, अनुगमन र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाएको जनाएको छ।


