काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि सोमबार उनलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध फर्जी कागजातका आधारमा तिब्बती शरणार्थीहरूलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोप छ।
अनुसन्धानका अनुसार भट्टराईमाथि करिब १७ वर्षअघि पाँच जना तिब्बती शरणार्थीका नाममा किर्ते कागजात तयार गरी ट्राभल डकुमेन्ट बनाइदिएको अभियोग लागेको छ। सोही घटनासम्बन्धी अनुसन्धानपछि गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो।
मुद्दा दर्ता हुँदा अदालतमा अनुपस्थित रहेका भट्टराईलाई सीआईबीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।
यस प्रकरणमा अदालतबाट थप अनुसन्धान तथा सुनुवाइ प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।


