काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा सुरु गरेको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा साउन महिनाको पहिलो १५ दिनका विजेताको घोषणा गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो।

वस्तु तथा सेवा खरिद–बिक्री गर्दा बिल–बिजक लिने र दिने संस्कारलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई औपचारिक, पारदर्शी तथा कर प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ।
आन्तरिक राजस्व विभागका अनुसार २०८३ साउन १ देखि १५ गतेसम्म प्रत्येक दिनका एक–एक जना गरी १५ जना दैनिक विजेता र एक जना बम्पर विजेता छनोट भएका छन्। दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ तथा बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार विजेता छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्यान्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको हो। कम्प्युटर प्रणालीबाट हुने उक्त प्रक्रियामा मानवीय हस्तक्षेप नहुने भएकाले छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी रहेको उनले बताए।

विभागका अनुसार साउन १ देखि १५ गतेसम्म ७ हजार ७७ वटा नगद कारोबार विभागको वेबसाइटमा प्रविष्ट भएका छन्। ती कारोबारको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ भने ३ हजार ९ सय १५ विक्रेता सहभागी भएका छन्।त्यस्तै, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको विभागले जनाएको छ। अनलाइन कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने भएकाले त्यसका लागि छुट्टै विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था छैन।
यसैबीच, साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार एक उपभोक्ताले जितेका छन्। शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर करदाता प्रोत्साहन उपहार जितेका हुन्।विभागले विजेताको कुपन नम्बर र संक्षिप्त विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ। व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै विजेताको पूरा नाम र मोबाइल नम्बर भने सार्वजनिक नगरिने विभागले स्पष्ट पारेको छ।

उपहार विजेताले घोषणा भएको मितिले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्न सक्नेछन्।सरकारले बिल–बिजक लिने र दिने संस्कारलाई संस्थागत गर्न तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।


