वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जिल्लाका राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरूसँग भेटघाट गरी शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सहकार्यका लागि आग्रह गरेका छन्।

परिचय तथा भेटघाटका क्रममा एसपी भट्टराईले जिल्लाको समग्र सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा आगामी सुरक्षा चुनौतीका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका हुन्।
उनले पर्सामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन र राजनीतिक दलसहित नागरिक समाज तथा स्थानीय सरोकारवालाबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताए।
एसपी भट्टराईले जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन राजनीतिक दलका नेतृत्वसँग निरन्तर संवाद र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।
भेटघाटमा सहभागी राजनीतिक दलका नेताहरूले पनि जिल्लामा सुरक्षा अवस्था सुधार, अपराध नियन्त्रण तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न प्रहरी प्रशासनसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
नयाँ सरकार गठनपछि जिल्लाको शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै अनुभवी प्रहरी अधिकृत भट्टराईलाई पर्सा प्रहरीको नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ।


