Lucky-Khabar_

मधेसमा पर्यटन प्रवर्द्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

बिरगंज । मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले पर्यटन प्रवर्द्धन, लगानीको सुरक्षा तथा संरक्षण र अनुगमन प्रणाली सुधारका लागि उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलको ध्यानाकर्षण गराएका छन्।

content ad p2

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ (FONHATE) मधेस प्रदेशको संयोजन तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) र होटल संघ नेपाल (HAN) मधेस प्रदेशको समन्वयमा महोत्तरीको लालगढस्थित गौतम होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरूले विभिन्न माग तथा सुझाव राखेका हुन्।

FONHATE मधेस प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो।

कार्यक्रममा व्यवसायीहरूले गृह तथा सञ्चार मन्त्रालय र मातहतका निकायबाट हुने अनुगमनमा देखिएको ‘छापामार शैली’प्रति असन्तुष्टि जनाउँदै अनुगमनलाई सुधारात्मक र समन्वयात्मक बनाउन माग गरे। उनीहरूले पूर्वसूचनासहित अनुगमन गर्नुपर्ने तथा जरिवानासम्बन्धी विषयमा स्पष्ट र व्यावहारिक व्यवस्था हुनुपर्नेमा जोड दिए।

सो अवसरमा FONHATE मधेस प्रदेशका संस्थापक महासचिव तथा NATTA मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले होटल तथा पर्यटन व्यवसायीका विभिन्न माग र सुझाव समेटिएको ध्यानाकर्षण पत्र मन्त्री पटेललाई हस्तान्तरण गरे।

व्यवसायीहरूले मधेस प्रदेशमा धार्मिक, सांस्कृतिक तथा खानपान पर्यटनको ठूलो सम्भावना रहे पनि लगानीको वातावरण, पर्यटन पूर्वाधार, व्यवसाय सञ्चालनको सहजता र अनुगमन प्रणालीमा सुधार आवश्यक रहेको बताए। स्थानीय कला–संस्कृति, पर्व तथा परम्परालाई पर्यटनसँग जोडेर प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

जवाफमा मन्त्री कनिष पटेलले निजी क्षेत्र र प्रदेश सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रमा लगानीको वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीलाई अनावश्यक समस्या नहुने गरी पूर्वसूचनासहितको अनुगमन प्रणालीलाई प्राथमिकता दिने बताए।

मन्त्री पटेलले मधेसको पर्यटन प्रवर्द्धनका लागि डिजिटल माध्यमको प्रयोग बढाउने, धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने र मार्ट, एक्स्पो, स्ट्रीट फेस्टिभल, सस्तो बजार तथा क्रस–बोर्डर B2B कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्यबाट मधेस प्रदेशलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

अन्तरक्रियामा बारा निजगढका सल्लाहकार युवराज लामा, जनकपुरधामका विजय झुनझुनवालालगायत पर्यटन तथा होटल व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको विशेष उपस्थिति थियो।

कार्यक्रमले मधेस प्रदेशमा पर्यटन विकास, निजी क्षेत्रको लगानी संरक्षण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार र व्यवसायीबीचको सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्दै टाइगरचोक एकता आमा समूह

लक्की खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर