वीरगञ्ज । कवाडी करको नाममा सवारीसाधनबाट अवैध रूपमा रकम असुली गरेको आरोपमा पर्सा प्रहरीले थप एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित ढाटबाट सोमबार राति स्थानीय ३५ वर्षीय अशोकप्रसाद यादवलाई पक्राउ गरेको हो। यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रवक्ता मल्लका अनुसार यसअघि पनि प्रहरीले सोही ढाटबाट एक जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।
तर प्रहरी कारबाहीपछि पनि रातिको समयमा बिना रसिद कवाडी करका नाममा रकम असुली भइरहेको स्थानीय तथा सवारी चालकहरूले बताएका छन्। उनीहरूका अनुसार जगरनाथपुर चोकस्थित सडक किनारमा त्रिपालको छाप्रो बनाएर केही युवाले सवारीसाधन रोकी रकम उठाउने गरेका छन्।
गत आर्थिक वर्षमा वीरगञ्ज महानगरपालिकाले कवाडी करको ठेक्का अमित ठेक्का पट्टलाई दिएको थियो। सम्झौताअनुसार पुरानो फलाम, प्लास्टिक, कागज, टायर–ट्युब लगायत निश्चित कवाडी सामग्रीमा मात्र कर असुल्न पाउने व्यवस्था रहेको महानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज कर्णले बताएका छन्। उनका अनुसार नयाँ आर्थिक वर्षको साउन महिनाका लागि पनि पुरानै सम्झौताअनुसार ठेक्काको म्याद थप गरिएको थियो।
स्थानीयका अनुसार सम्झौताविपरीत आईसीपीबाट निस्कने मालवाहक भारतीय सवारीसाधनबाट समेत रकम असुली भइरहेको छ। राजमार्गमा कर असुल्न नपाइने व्यवस्था हुँदाहुँदै महानगरपालिकाको नाममा रकम उठाइएको उनीहरूको आरोप छ।

स्थानीयले कथित अवैध असुलीमा केही प्रभावशाली व्यक्ति, इलाका प्रहरी कार्यालय सुगौली तथा महानगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीको समेत मिलेमतो रहेको आरोप लगाएका छन्। यद्यपि, यी आरोपबारे सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान अघि बढाउँदै अवैध असुलीमा संलग्न अन्य व्यक्तिको पहिचान र भूमिकाबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।


