Lucky-Khabar_

एमए परीक्षाका क्रममा ठाकुरराम क्याम्पसमा झडप, तीन विद्यार्थी घाइते

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एमए परीक्षाका क्रममा मोबाइल प्रयोगको विषयलाई लिएर विद्यार्थीबीच विवाद हुँदा झडप भएको छ। घटनामा तीन जना विद्यार्थी घाइते भएका छन्।

content ad p2

विद्यार्थी प्रतिनिधि राज यादवका अनुसार केही परीक्षार्थीले परीक्षा हलमै मोबाइल प्रयोग गरी उत्तर लेखिरहेको भन्दै उनले परीक्षा गार्ड तथा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए। सबै परीक्षार्थीलाई समान व्यवहार हुनुपर्ने भन्दै मोबाइल प्रयोग रोक्न आग्रह गरेपछि विवाद सुरु भएको उनको भनाइ छ।

यादवले पहुँचवाला परीक्षार्थीलाई मोबाइल प्रयोगमा छुट दिइएको भन्दै आफूले विरोध गरेको दाबी गरेका छन्। विवादका क्रममा एमएका विद्यार्थी आयुष यादवले आफूमाथि हातपात र धाकधम्की दिएको उनको आरोप छ।

विवाद चर्किएपछि बाहिरबाट समेत केही व्यक्ति क्याम्पस परिसरमा प्रवेश गरी आक्रमण गरेको विद्यार्थी पक्षको दाबी छ। त्यस क्रममा तीन जना विद्यार्थीको टाउकोमा चोट लागेको बताइएको छ।

घटनापछि प्रहरी क्याम्पस परिसरमा पुगेको थियो। तर प्रहरीले आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिनुको सट्टा आफूहरूमाथि नै लाठीचार्ज गरेको विद्यार्थीहरूले आरोप लगाएका छन्।

विद्यार्थीहरूले परीक्षामा हुने भनिएको अमर्यादित गतिविधिको अन्त्य गर्दै सबै परीक्षार्थीलाई समान व्यवहार गर्न तथा घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

घटनाबारे क्याम्पस प्रशासन र प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन। मोबाइल प्रयोग, बाहिरी व्यक्तिको प्रवेश र प्रहरी लाठीचार्जसम्बन्धी विद्यार्थी पक्षका आरोपबारे सम्बन्धित निकायको प्रतिक्रिया आउन बाँकी छ।

सम्बन्धित खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर