वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा नवनिर्मित श्री गणेश जी महाराजको मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा शुक्रबार भव्य कलश यात्रा सम्पन्न भएको छ। हजारौँ श्रद्धालु भक्तजन, महिला तथा बालबालिकाको सहभागितामा निकालिएको कलश यात्राले श्रीपुर क्षेत्र भक्तिमय बनेको थियो।

श्रीपुरबाट सुरु भएको यात्रा कृषि औजार कारखाना हुँदै घडीअर्वा पोखरी पुगेको थियो। पोखरीबाट पवित्र जल भरेर श्रद्धालुहरू विभिन्न धार्मिक स्थल तथा नगरका मुख्य भागको परिक्रमा गर्दै घण्टाघर क्षेत्र पुगेका थिए। त्यसपछि यात्रा पुनः श्री गणेश मन्दिर परिसरमा पुगेर समापन भएको थियो।
कलश यात्रामा महिला, किशोरी तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो। टाउकामा कलश बोकेर धार्मिक आस्थाका साथ सहभागी भएका श्रद्धालुहरूको ठूलो उपस्थितिले श्रीपुरको वातावरण भक्तिमय बनेको थियो।

यसैबीच, कलश यात्राका क्रममा स्थानीय मुस्लिम समुदायले श्रद्धालुहरूलाई खानेपानी वितरण गरेर धार्मिक सद्भाव र सामाजिक एकताको उदाहरण प्रस्तुत गरेका छन्। मुस्लिम समुदायका युवाहरूले यात्रामा सहभागी भक्तजनलाई पानी वितरण गर्दै स्वागत गरेका थिए।
हिन्दु धार्मिक कार्यक्रममा मुस्लिम समुदायले गरेको पानी वितरणले वीरगञ्जको बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा आपसी भाइचारा, सहिष्णुता र सद्भावको सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
विभिन्न समुदायबीचको यस्तो सहकार्यले धार्मिक आस्थाभन्दा माथि उठेर सामाजिक एकता र आपसी सम्मान कायम गर्न सकिने सन्देश दिएको स्थानीयको भनाइ छ। वीरगञ्जमा लामो समयदेखि कायम रहेको सामाजिक सद्भावलाई थप मजबुत बनाउन यस्ता गतिविधि महत्वपूर्ण हुने उनीहरूले बताएका छन्।
मन्दिरको प्राण प्रतिष्ठासँगै विभिन्न धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको आयोजकले जनाएको छ।


