रौतहट । भारतको झारखण्डमा बाबा वैद्यनाथ धाम (बाबाधाम) दर्शनका लागि गएका नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्।

रौतहटबाट बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार ना.६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान झारखण्डको सतगावाँ थाना क्षेत्रतर्फ मालवाहक ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा रौतहटका ३ जनाको मृत्यु र १५ जना घाईते भएको स्थानीयवासीले बताएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनाको विस्तृत विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ। यसअघि पनि रौतहटबाट बाबाधाम जाने क्रममा नेपाली बोलबम तीर्थयात्री सवार बस भारतमा दुर्घटनामा परेका घटना सार्वजनिक भएका छन्।


