वीरगञ्ज । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार विविध कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा राष्ट्रिय झण्डोत्तोलनसँगै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको स्वतन्त्रता दिवस सन्देश वाचन गरिएको थियो।

महावाणिज्य दूतावास परिसरमा आयोजित समारोहमा वीरगञ्जका लागि भारतीय महावाणिज्यदूत डी. एस. मीनाले राष्ट्रिय झण्डा फहराउँदै कार्यक्रमको शुभारम्भ गरे। त्यसपछि उनले राष्ट्रपति मुर्मूको राष्ट्रका नाममा जारी सन्देश पढेर सुनाए।
राष्ट्रपति मुर्मूको सन्देशमा भारतले विकास, खेलकुद, महिला सशक्तीकरण तथा युवाको क्षेत्रमा हासिल गरिरहेको प्रगतिलाई उल्लेख गरिएको थियो। भारतको जनसंख्याको ठूलो हिस्सा युवा रहेको उल्लेख गर्दै युवालाई देशको महत्वपूर्ण शक्ति र सम्पत्तिका रूपमा प्रस्तुत गरिएको थियो।

सन्देशमा महिलाको आर्थिक तथा राजनीतिक सहभागिता बढ्दै गएको विषयलाई समेत प्राथमिकताका साथ उल्लेख गरिएको थियो। महिला स्वयं सहायता समूह, ‘लखपति दीदी’ अभियान तथा संसद् र विधानसभामा महिलाको प्रतिनिधित्व बढाउने उद्देश्यले लागू गरिएको ‘नारी शक्ति वन्दन अधिनियम’बारे जानकारी दिइएको थियो।
समारोहमा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई महावाणिज्यदूत मीनाले सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख पवनकुमार भट्टराई, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख मोहनबहादुर क्षेत्रीलगायत सुरक्षा निकायका अधिकारी, राजनीतिक दलका नेता, पूर्वमन्त्री सुरेन्द्र चौधरी, सञ्चारकर्मी, सामाजिक व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन आपसी सद्भाव र सहकार्यको महत्वसमेत उजागर गरेको आयोजकले जनाएको छ।


