वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको भूमिकामाथि प्रतिनिधिसभामै प्रश्न उठेको छ। सांसदहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले हराएको सूचना पाएपछि प्रहरीले गरेको खोजी तथा अनुसन्धान प्रभावकारी नभएको दाबी गरे।
सांसद अन्सारीले बालिका हराएको सूचना दिएको २४ घण्टासम्म इलाका प्रहरी कार्यालय सिमराबाट प्रभावकारी खोजी वा अनुसन्धान अघि बढ्न नसकेको भन्दै प्रहरीको भूमिकाबारे छानबिन गर्न माग गरे।
उनले बालिका हराएको समयदेखि शव फेला नपरेसम्म प्रहरीले प्रत्येक घण्टा गरेका कामको विवरणसहितको ‘एक्सन लग’ सार्वजनिक गर्न माग गरेका छन्। प्रहरीको लापरबाही पुष्टि भए सम्बन्धित अधिकारीमाथि समेत कारबाही हुनुपर्ने उनको भनाइ छ।
प्रहरीका अनुसार दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। परिवार र स्थानीयले खोजी गर्दा पनि तत्काल फेला नपरेकी बालिका मंगलबार एउटा घरको खाली कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको खुलेको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।
घटनालाई लिएर स्थानीयस्तरमा आक्रोश बढिरहेका बेला सांसदहरूले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा बालबालिकाविरुद्धका जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई गम्भीरतापूर्वक काम गर्न आग्रह गरेका छन्। बैठकमा अन्य सांसदहरूले पनि दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै कडा कारबाहीको माग गरेका थिए।


