वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्चार्ज प्रहरी निरीक्षक सुमन्नत अधिकारी गाँजा कारोबारीसँग कथित लेनदेनमा जोडिएको आरोपपछि जिल्ला प्रहरी कार्यालय पर्साको आन्तरिक अनुसन्धानको घेरामा परेका छन्।

लागूऔषध गाँजासँग सम्बन्धित विभिन्न घटनामा प्रहरी निरीक्षक अधिकारीको भूमिका शंकास्पद देखिएको भन्दै गुनासो तथा सूचना आउन थालेपछि अनुसन्धान अघि बढाइएको बताइएको छ। यसैक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले मंगलबार पटेर्वा सुगौली क्षेत्रको स्थलगत भ्रमण तथा सुरक्षा अवस्थाबारे अवलोकन गरेको बुझिएको छ।

स्थानीयस्तरमा प्रहरी निरीक्षक अधिकारीले घुमुवा प्रहरी परिचालन गरी रकम असुली गर्ने गरेको आरोपसमेत चर्चा हुन थालेको छ। यही विषयमा पटेर्वामा कार्यरत प्रहरी सहायक हवल्दार श्रीलाल मण्डल र प्रहरी जवान अनिल साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाएर सोधपुछ भइरहेको स्रोतको दाबी छ।

पर्साको सीमावर्ती तथा ग्रामीण क्षेत्रमा मकवानपुरको पहाडी भेगबाट ल्याइने गाँजा र चरेस भण्डारण तथा भारततर्फ तस्करी हुने गरेको बताइन्छ। पर्सा राष्ट्रिय निकुञ्ज हुँदै सोनवर्षा, पटेर्वा सुगौली, मुडली, तिनडोविया, देवरिया, सुवर्णपुर, विजयवस्ती र ठोरीलगायत क्षेत्रमा गाँजा तथा चरेस पुर्याएर भण्डारण गर्ने र रातको समयमा मोटरसाइकल, ट्र्याक्टरलगायतका सवारीसाधनमार्फत सीमापारि भारततर्फ लैजाने गरिएको स्रोतको दाबी छ।

प्रहरी निरीक्षक अधिकारीमाथि लागेका आरोपबारे जिल्ला प्रहरी कार्यालय पर्साले औपचारिक रूपमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। अनुसन्धानबाट आरोप पुष्टि हुन्छ वा हुँदैन भन्ने विषय भने छानबिनपछि मात्रै स्पष्ट हुने छ।


