Lucky-Khabar_

डीएसपी निलम्बनको माग गर्दै स्थानीयको आन्दोलन जारी, वीरगञ्ज–पथलैया सडक ठप्प

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले थालेको आन्दोलन दोस्रो दिन पनि जारी छ। स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन नगरेसम्म सडक नछाड्ने अडान लिएका छन्।

content ad p2

पीडित परिवार र स्थानीयवासीले बुधबार बिहानदेखि वीरगञ्ज–पथलैया सडकखण्डमा टायर बालेर प्रदर्शन गरेपछि मुख्य व्यापारिक तथा औद्योगिक करिडोरको यातायात प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्।

बालिका साउन ३१ गतेदेखि बेपत्ता भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको र शङ्कास्पद व्यक्तिविरुद्ध किटानी जाहेरीसमेत दिएको भए पनि प्रहरीले खोजीमा तत्परता नदेखाएको पीडित पक्षको आरोप छ।

मङ्गलबार साँझ स्थानीयले घरनजिकैको सुनसान भवनबाट दुर्गन्ध आएपछि झ्यालबाट हेर्दा बालिकाको शव फेला पारेका थिए। शव भेटिएपछि मात्रै प्रहरीले सक्रियता देखाएको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

सडक अवरोध हटाएर यातायात सञ्चालन गर्ने विषयमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच बुधबार रातिसम्म पटक–पटक वार्ता भए पनि सहमति हुन सकेन। आन्दोलनकारीले डीएसपी क्षेत्रीको तत्काल निलम्बनलाई मुख्य माग बनाएपछि वार्ता निष्कर्षविहीन भएको हो।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार डीएसपी निलम्बन गर्ने माग जिल्ला प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिरको विषय हो।

“बुधबार राति ११ बजेसम्म भएको छलफलमा उहाँहरूले डीएसपी सा’बलाई निलम्बन गर्नुपर्ने अडान राख्नुभयो, जुन जिल्ला तहको अधिकार क्षेत्रभन्दा बाहिरको विषय हो,” भट्टराईले भने।

प्रहरीको ढिलासुस्ती र लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाउँदै स्थानीयले दोषीमाथि कारबाही र प्रहरी अधिकारीमाथि जिम्मेवारी निर्धारण नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर