वीरगञ्ज । वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा कक्षा १२ का विद्यार्थीबीच घरेलु तथा पुनःप्रयोग गर्न सकिने सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न भएको छ।

सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयअन्तर्गत बिहानी सत्रका विद्यार्थीबीच आयोजित प्रतियोगितामा विद्यार्थीहरूले घरमै उपलब्ध सामग्रीको प्रयोग गरी मन्दिर, विद्यालय, कलेज, विभिन्न मूर्तिलगायतका आकर्षक सामग्री निर्माण गरेका थिए।
कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतान, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता थियो।
प्रतियोगितामा पूजा मण्डल प्रथम, सोनी शर्मा लोहार द्वितीय र रेनु चौहान तृतीय भएका छन्। उत्कृष्ट तीनै जना विद्यार्थीलाई प्रमुख अतिथि डा. खेतानले मेडल प्रदान गरी सम्मान गरे।
कार्यक्रममा डा. खेतानले किताबी ज्ञानसँगै विद्यार्थीमा व्यवहारिक सीप र सिर्जनशीलताको विकास आवश्यक रहेको बताए। यस्ता गतिविधिले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कलेजले विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान, मेहनत तथा स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। साथै, आगामी दिनमा पनि विद्यार्थीको क्षमता र प्रतिभा अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने कलेज प्रशासनले जनाएको छ।


