काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद थप चर्किएको छ। निर्धारित कार्यतालिकाअनुसार असोजमा हुने महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्।

देउवा र खड्काको तर्फबाट कानुन व्यवसायीहरूले शुक्रबार सर्वोच्च अदालत पुगेर रिट दर्ता गराएका हुन्। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार दुवै नेताको तर्फबाट अलग–अलग रिट निवेदन दर्ता भएको हो।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्ने गरी निस्सा दिइसकेको अवस्थामा उक्त विवादको अन्तिम निरूपण नभएसम्म महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको जिकिर छ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, महाधिवेशनको नेतृत्व र प्रक्रियालाई लिएर पार्टीभित्र दुई धार देखिएपछि विवाद थप गहिरिएको हो।
यसैबीच, इतर समूहको भेलाले गगन थापालाई सभापतिको रूपमा अस्वीकार गर्दै पूर्वसभापति देउवाकै नेतृत्वमा महाधिवेशन अघि बढाउने निर्णय गरेपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक संघर्ष थप पेचिलो बनेको छ।


