Lucky-Khabar_

छ वर्षपछि बेलायत फर्किने तयारीमा प्रिन्स ह्यारी र मेघन मर्कल

७ भदौ, काठमाडौँ । बेलायती राजपरिवारका वरिष्ठ सदस्यको भूमिका त्यागेर छ वर्षअघि अमेरिका बसाइँ सरेका प्रिन्स ह्यारी र मेघन मर्कल पुनः बेलायत फर्किने तयारीमा छन्। यद्यपि, उनीहरूको यो पुनरागमन शाही जिम्मेवारी वा राजकीय भूमिकामा भने हुने छैन।

content ad p2

ड्युक र डचेस अफ ससेक्स आफ्ना दुई सन्तान—सात वर्षीय प्रिन्स आर्ची र पाँच वर्षीया प्रिन्सेस लिलिबेटसहित अमेरिकाबाट बेलायत बसाइँ सर्ने योजनामा रहेको बताइएको छ। उनीहरूका छोराछोरीले आगामी सेप्टेम्बरदेखि बेलायतमै विद्यालय शिक्षा सुरु गर्ने जनाइएको छ। ह्यारी र मेघन लन्डनबाहिर निजी गैर–राजकीय निवासमा बस्नेछन् भने उनीहरूको शाही हैसियत भने कायमै रहनेछ।

बेलायत फर्किने निर्णयसँगै उनीहरूको सुरक्षा व्यवस्था र त्यसको खर्चबारे पुनः बहस सुरु भएको छ। सन् २०२० मा राजपरिवारको भूमिका त्यागेपछि बेलायत सरकारले करदाताको रकमबाट सञ्चालन हुने उनीहरूको सरकारी सुरक्षा सुविधा कटौती गरेको थियो। अमेरिकामा भने उनीहरूले आफ्नै खर्चमा सुरक्षा व्यवस्था गर्दै आएका थिए।

अफगानिस्तान युद्धमा सहभागी भइसकेका पूर्वसैनिकसमेत रहेका ह्यारी र उनका परिवार उच्च–प्रोफाइल व्यक्तित्व हुन्। तर, बेलायती सञ्चारमाध्यम ‘द टाइम्स’का अनुसार उनीहरूलाई राज्यकोषबाट पुनः सशस्त्र सुरक्षा उपलब्ध गराउने कुनै योजना छैन। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पनि सुरक्षा व्यवस्था उनीहरूको ‘निजी मामिला’ भएको टिप्पणी गर्दै ह्यारी र मेघनको नयाँ कदमका लागि सफलताको शुभकामना दिएका छन्।

सन् २०२० को जनवरीमा राजपरिवारबाट अलग हुने निर्णय गरेपछि ह्यारी–मेघन क्यालिफोर्नियाको मोन्टेसिटोमा बस्दै आएका थिए। नेटफ्लिक्सलगायतका व्यावसायिक परियोजनामार्फत आर्थिक रूपमा आत्मनिर्भर बनेका उनीहरूको राजपरिवारसँगको सम्बन्ध पछिल्लो समय केही सहज बन्दै गएको देखिन्छ। विशेषगरी राजा चार्ल्सको स्वास्थ्य समस्या र सन् २०२६ यता भएका भेटघाटले परिवारबीचको दूरी कम गर्न मद्दत गरेको विश्लेषण गरिएको छ।

प्रिन्स ह्यारीको नेपाल र बेलायती गोर्खा सैनिकसँग पनि लामो र आत्मीय सम्बन्ध रहँदै आएको छ। अफगानिस्तानमा सैन्य सेवाका क्रममा गोर्खा सैनिकसँगै खटिएका उनले गोर्खालीहरूको साहस, त्याग र व्यावसायिकताको सार्वजनिक रूपमा प्रशंसा गर्दै आएका छन्।

वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि नेपाल भ्रमणमा आएका ह्यारीले उत्तरी गोर्खाको लापुस्थित प्रभातकिरण निम्न माध्यमिक विद्यालयको पुनर्निर्माणमा श्रमदानसमेत गरेका थिए। उनले अन्नपूर्ण हिमशृङ्खला तथा बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले नेपालको प्राकृतिक सौन्दर्य र नेपालीहरूको आतिथ्यलाई सधैँ स्मरण गरिरहने बताएका थिए।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर